FAQs Complain Problems

प्रमुख सूचना:

सीप मुलक उधमशिलता तालिम सम्बन्धी अभिमुखीकरण कार्यक्रम

यूवाहलाई आत्मनिर्भर बनाउन साँफेबगर नगरपालिकाले सहयोग गर्ने भएको छ । दलित संजाल साफेबगर अछामको आयोजनामा फागुन २ गते भएको सीप मुलक उधमशिलता तालिम सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सो कुराको जानकारी गराईएको हो । साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले यूवाहरुले आत्म निर्भर हुन व्यावसाय सञ्चालन सुरु गरे नगरपालिका सहयोग गर्न तयार रहेको बताउनु भएको हो । कुँवरले यूवाहरुले विभिन्न विधाका तालिम तथा सीपहरु सिकेर स्रोजगार हुनुपर्ने बताउनु भयो । सरकारले यूवाहरुलाई आत्मनिर्भर बनाउनका लागि बिना धितो ऋण लगानी गर्न लागेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अधि सारेको पनि उहाँले बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुडथापाले कसैले परनिर्भर नभएर आत्म निर्भर हुनु पर्ने बताउनु भएको छ । उहाँले आत्म निर्भर बन्न चाहने यूवाहरुलाई नगरपालिकाले सहयोगका लागि पहल गर्ने बताउनु भएको छ । उहाँले साँफेबगर नगरपालिकालाई आर्थिकमा आत्म निर्भर बनाउनका लागि यूवाहरुको महत्वपूर्ण भूमिका र जिम्मेवारी भएको पनि बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेकपाका नेता प्रकाश शाहले आफूसंग सिप भयो भने संसारका जूनसुकै ठाउँमा गएर पनि आफ्नो जिवन निर्वाह गर्न सकिने बताउनु भयो । नेता शाहले आफ्नो उर्जा्शिल समयलाई खेर नफालेर समयको सदुपयोग गर्नु पर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका क्षेत्रीय शभापती कृष्ण बहादुर बुढाले यूवाहरुले विभिन्न सिपहरु सिकेर उद्यमशिल हुनुपर्ने बताउनु भएको छ । उहाँले बेरोजगार बस्नु भन्दा विभिन्न सिपहरु सिकेर व्यवसाय सञ्चालन गरे आफू आत्म निर्भर हुनुका साथै बेरोजगारी समस्यामा समेत कमि आउने बताउनु भयो ।
दलित संजाल साफेबगर अछामको आयोजना, साफेबगर नगरपालिका र नेपाल युथ फाउन्डेसन नेपालको संयुक्त आर्थिक सहयोगमा ओल्गापुरी भोकेस्नल स्कुलमा सन्चालन हुने तालिम छनोट कार्यक्रम सम्पन्न भएको हो । चलाउनु छ सिप, बलाउनु छ दिप, बनौँ आत्म निर्भरता घटाऔँ परनिर्भरता भन्ने मुल नाराका साथ भएको कार्यक्रम दलित नगर संजालका अध्यक्ष सुरत भुलको अध्यक्षतामा भएको थियो ।

कार्यक्रम साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटा, साफेबगर नगरपालिकाका १४ वटा वडा वडा अध्यक्षहरु, नगरकार्यपालिका सदस्यहरु, ओल्गापुरी भोकेस्नल स्कुलका बिनोद कडारा, १४ वटै वडाबाट तालिममा सहभागी हुन आएका ७५ जना सहभागीहरुको सहभागीता रहेको थियो । अन्तरपाटि महिला संजाल साफेबगरका सचिब सीता कुवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन युवा संजाल साफेबगरका अध्यक्ष भुपेन्द्र भणडारीले गर्नु भएको थियो ।